नेपालमा भएको जेनजी आन्दोलनलाई अहिलेसम्म विभिन्न दृष्टिकोणहरूबाट व्याख्या र विश्लेषणहरू भएका छन् । धेरैले नेपालमा भएका ठुला ठुला परिवर्तनहरूलाई कुनै न कुनै विदेशीहरूको हात रहेको भन्दै आरोप लगाउने कामहरू हुने गरेका छन् । नेपालका राजनीतिक दलहरूले एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने क्रम हिजो पनि उस्तै थियो आज पनि उस्तै छ । आफ्नो पक्षमा मत आयो भने ठिक आफ्नो विपक्षमा आयो भने कोही न कोही विदेशी शक्तिले गर्दा यस्तो भएको भनेर गरिने विश्लेषणहरूले हिजो पनि बजार पाएको थियो भने आज पनि सोही अनुसारका व्याख्या र विश्लेषणहरू सुरु भएका छन् ।
नेपाल यसै पनि भू परिवेष्टित देश भएकोले पनि कोही न कसैको क्षत्र छायामा रहेको छ भनेर हिजोदेखि आजसम्म गरिएका विश्लेषणहरूले कहीँ कहीँ मेल खाएको अवस्था देखिन्छ । समग्रमा नेपालको विकास, सुशासन र पारदर्शी ताको विषय भने निकै भिन्न छ । नेपालका दुई वटा छिमेकी मुलुकहरू यसै पनि शक्ति राष्ट्र भएकोले एकले अर्कोलाई वा नेपालको आन्तरिक राजनीतिक, सामाजिक, आर्थिक विषयहरूलाई आफ्नो पक्षमा पार्नुपर्छ भन्ने भित्री बाहिरी रणनीति नहुने कुरै भएन तर नेपालका राजनीतिक दलहरूले दुवै देशहरूबिच सन्तुलित सम्बन्ध विस्तार गरेर अन्य बाह्य शक्ति राष्ट्रहरू सँगको कूटनीति मर्यादालाई ख्याल गरेर काम गर्नुपर्ने हो ती कामहरू केही दलहरूले गर्न नसक्नु र युवा पुस्ताको भावनालाई कदर गरेर अगाडी बढ्न नसक्नु पनि विडम्बनाको कुरा हो । यही र यस्ता धेरै अन्यौलताका बिच नेपालमा भएको पछिल्लो आन्दोलनले के कुरालाई विशेष महत्त्व दिएको थियो भन्ने विषय अहिलेपनी ओझेलमा परेको देखिन्छ ।
विशेष गरेर जनेजी आन्दोलनको मर्म भनेको देशमा भ्रष्टाचार बढ्यो, देशको प्रणाली प्रभावकारी भएन भन्ने थियो तर पछिल्ला दिनहरूमा आन्दोलनको सबैभन्दा ठुलो उपलब्धिको रूपमा मानिएको प्रतिनिधि सभाको निर्वाचनको विषय बन्यो , अहिले लगभग यो विषय टुङ्गोमा पुगेको अवस्था छ । २०८४ मा निर्वाचन हुने कुरा निश्चित थियो तर आन्दोलनको सबैभन्दा ठुलो उपलब्धिको रूपमा प्रतिनिधि सभाको निर्वाचनलाई लिइयो र यो विषयको अन्तिम प्रक्रिया भोली अर्थात् माघ ६ गते प्रतिनिधि सभाको मनोनयनको विषय देखिएको छ । यो सँगै नेपाली काँग्रेसको संस्थापन पक्षले यसलाई मान्य नहुने भन्दै काँग्रेस भित्रको किचलोको विषयलाई सर्वोच्चमा निवेदनको रूपमा पेस गरेको छ । विवाद मिलेको छैन यस्तो अवस्थामा निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको पछिल्लो विशेष महाधिवेशनको म्यान्डेटलाई मात्र आधार मानेर मात्र निर्वाचनमा होमिदा यसले कस्तो प्रभाव पार्ने हो त्यो विषय अहिले पनि अन्योलमै छ । नेपाली काँग्रेसको आन्तरिक किचलो नमिल्दै बनेको निर्वाचनको माहौलले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि लामो इतिहास बोकेको काँग्रेसको अवस्था आगामी दिनमा के हुने हो त्यो विषय भने अझै अन्योलमै रहने अवस्था देखिन्छ ।





